बालबालिकालाई जोगाऔं

0
117
Advertisementcorona-new-ads

कोरोना संक्रमणको दर तीब्र रुपमा फैलिइरहेको छ । देशभर नै कोरोनो संक्रमणको दोश्रो लहरले निकै भयावह रुप लिइरहेको छ । अस्पतालहरुमा विरामीहरुले भर्ना पाइरहेका छैनन् । यस्तोमा सबै भन्दा जोखिममा बालबालिकाहरु रहेका छन् । बालबालिकाहरुका लागि कोरोनाको दोश्रो लहर निकै जोखिममा रहेको अध्ययनहरुले देखाइरहेको छ । बालबालिका जोखिममा पर्नुको अर्को कारण हो, उनीहरुका लागि खोप तयार नहुनु । बालबालिकाहरुका लागि खोप उपलब्ध छैन ।
दोश्रो चरणको कोरोना महामारीका कारण बालबालिकाको अवस्था अत्यन्त नाजुक हुने स्थिति देखिएको छ । विशेष गरी अभिभावकहरुले बालबालिकालाई पर्याप्त समय नदिने हो भने बालबालिकाको सर्वांगिण विकासमा ठूलो असर पुग्ने बालबालिकाको क्षेत्रमा कार्यरत सरोकारवालाहरुको भनाई रहेको छ । कोरोना भाइरसको संक्रमणसँगै बालबालिकाहरुको जोखिमको स्तर पनि फरक फरक रहेको छ । विशेष गरी विद्यालय जाने उमेरका बालबालिकाहरुमा मानसिक रुपमा प्रभाव पर्ने देखिएको छ ।
बालबालिकाहरु संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन् । समुदायस्तरमा नै संक्रमण फैलिरहेको अवस्थामा बालबालिकाहरुलाई यसबाट जोगाउन मुस्किल रहेको अभिभावकहरुको भनाई छ । १५ वर्ष माथीका बालबालिकाहरु घरबाहिर बढी निस्कने हुनाले संक्रमणको जोखिम धेरै भएको विज्ञहरुको भनाई छ । अहिले विद्यालय बन्द छ, बालबालिका विद्यालय जान पाएका छैनन् । घरबाहिर त्यति धेरै ननिस्किँदा पनि संक्रमण बढिरहेको चिन्ताको विषय हो । यसमा अभिभावक सावधानी नपुगेको देखिन्छ । विशेषगरी अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका छोराछोरीहरु संक्रमणको उच्च जोखिममा छन् । अहिले पनि अन्य रोग भएका संक्रमितहरुको अवस्था निकै जटिल बनिरहेको अवस्थामा बालबालिकाहरुमा पनि अवस्था जटिल हुन सक्ने देखिन्छ । विशेष गरी कडा रोग भएका बालबालिकाहरुको अवस्था जटिल हुने आंकलन गर्न सकिन्छ ।
यस्तोमा बालबालिकाहरुको सुरक्षा र संरक्षणको जिम्मेवारी अभिभावकहरुकै हो । बालबालिकाहरुमा संक्रमण हुँदा अन्यमा संक्रमण सर्ने जोखिम झनै बढि हुन्छ । उनीहरुको स्याहार गर्ने अभिभावकहरु यसको उच्च जोखिममा पर्छन् । तर पनि अधिकांश बालबालिकालाई अभिभावकबाटै संक्रमण सरेको छ । बालबालिकामा संक्रमण धेरै भए पनि लक्षण देखिएका र अस्पताल भर्ना हुनुपर्ने खालका केस निकै कम देखिनु एउटा सुखद् पक्ष मान्न सकिन्छ । बालबालिकालाई सकेसम्म घरबाहिर भीडभाडमा नलैजाने, लैजानै परे मास्क लगाएर, भौतिक दूरी कायम गरेर सतर्कता अपनाउन जरुरी छ । बालबालिकाहरु अहिले उच्च जोखिममा छन् । उनीहरुलाई बचाउन सकिन्छ । अभिभावकहरुले उच्च सावधानी अपनाउने र स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने बालबालिकामा संक्रमणको अवस्था कमजोर भएर आउँछ । बालबालिकाहरु चञ्चल हुन्छन् । उनीहरुले कुरा पनि बुझ्दैनन् । तर, यसो हुँदैमा अभिभावकहरु बालबालिकासँग झर्किने, पिट्ने जस्ता गतिविधि गर्नु हुन्न । बालबालिकाहरुमा यो समयमा पर्ने मनोबैज्ञानिक असर पनि कमी छैन । अभिभावकहरुले बालबालिकाहरुलाई पर्याप्त समय दिनु पर्छ । उनीहरुको कुरा सुन्नु पर्छ ।

प्रतिकृया दिनुहोस्