मकवानपुरमा जोखिमको तह उच्च

0
280
Advertisementcorona-new-ads

मकवानपुरमा कोरोना संक्रमणको दोश्रो लहरको फैलने दर तीब्र रुपमा बढिरहेको छ । बैशाख पहिलो साताबाट सुरु भएको दोश्रो लहर तेश्रो साता सकिँदासम्म व्यापक भइसकेको छ । बैशाख १० गते करिब २ सय जना संक्रमित रहेको जिल्लामा बैशाख तेश्रो साता पूरा हुँदा करिब एक हजार संक्रमित पुगिसकेका छन् । संक्रमित बढेसँगै मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा क्रमशः कडाई गरिँदैछ ।
कोरोनाको जोखिम बढ्दो छ । आम सर्वसाधारणहरुले पनि यसमा सचेत हुन जरुरी छ । कोरोना जोखिम न्यूनीकरण गर्न वा जोखिमबाट बच्न सबै भन्दा प्रभावकारी उपाय भनेको व्यक्ति स्वयम् नै सचेत हुने हो । स्वास्थ्यकर्मी र विज्ञहरुले भने जस्तो सकेसम्म घरबाहिर ननिस्कने, अत्यावश्यक काममा निस्कन परे सामाजिक दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता काम गर्न हामी सबैले गर्न जरुरी छ ।
यसमा सरोकारवालाहरुले पनि ठोस कदम चाल्नु जरुरी छ । जनता र सरकारबीच आपसमा समन्वय हुन सके मात्रै कोरोना नियन्त्रणका कामहरु प्रभावकारी हुन्छ । तर, बागमती प्रदेश सरकारले ठोस रुपमा काम गर्न सकेको छैन । बागमती प्रदेशको राजधानी हेटौंडामा तीन साता भित्र १ हजारको हाराहारीमा संक्रमित भेटिइसकेका छन् । परीक्षणको दायरा नै कम भइरहेको अवस्थामा यो संख्यामा संक्रमित भेटिनु निकै भयावह अवस्था हो । अहिले परीक्षण भएका मध्ये करिब आधामा कोरोना पुष्टि भइरहेको छ । अहिले न त परीक्षणको दायरा बढाउन सकेको छ, न त आइसोलेसन र उपचार कक्षमा नै ठोस काम हुन सकेको छ । आइसोलेसन निर्माणको जिम्मेवारी स्थानीय सरकारले लिनेछ । उपचार गर्ने निकायमा त कम्तिमा प्रदेश सरकारको उपस्थिति हुन पर्ने हो ।
कोरोना नियन्त्रणमा प्रदेशको भूमिका के ? भन्ने सवाल यतिबेला देशै भर उठिरहेको छ । एक त संघीय राजधानी भएको प्रदेश त्यसमा पनि धेरै स्वास्थ्य पूर्वाधार भएको प्रदेश भएको हिसाबले पनि बागमती प्रदेश सरकारले यहाँका जनताका लागि कोरोना नियन्त्रणमा सशक्त भूमिका खेल्न सक्छ । केन्द्र सरकारसँग निरन्तर समन्वय गरी स्थानीय सरकारको सहयोगीको रुपमा प्रदेश सरकारले आफूलाई उपस्थित गराउन सक्नु पर्छ । प्रदेश सरकार आफैैं अलमलमा परेको देखिन्छ । केन्द्र सरकारले पनि प्रमुख जिल्ला अधिकारीलाई बढी अधिकार दिएको छ । प्रादेशिक संरचनालाई केन्द्र सरकारले पनि ठोस परिचालन गर्न सकेको देखिँदैन । कोरोना महामारीको ‘सुनामी’ नै आउने स्थिति बनिसकेको छ । प्रदेश सरकारले यसमा हस्तक्षेपकारी भूमिका खेल्न जरुरी छ न कि समन्वयकारी । स्थानीय सरकारलाई आवश्यक बजेट र पूर्वाधार उपलब्ध गराउने, स्वास्थ्य संरचनालाई अझै चुस्त बनाउने, कोरोना परीक्षण र कन्ट्याक्ट टे«सिङमा काम गर्ने विषयमा हस्तक्षेपकारी भूमिका प्रदेश सरकारको हुनु पर्छ ।
सरकारले आफ्नो तर्फबाट जति गरिरहेको त्यो पर्याप्त कुनै पनि हालतमा छैन । परीक्षणको दायरा अझै पनि बढ्न सकेको छैन । प्रदेश सरकार आफैंले पनि यसमा हस्तक्षेपकारी भूमिका खेल्न सकेको छैन । तर, जनताहरुले पनि आफ्नो तर्फबाट आवश्यक सतर्कता अपनाउन सकेका छैनन् । जनताहरुमा त्रास बढ्दो छ तर सतर्कता छैन । निषेधाज्ञा हुँदा विहान बजारमा ठूलो भीड देखिन्छ । व्यवसाय सञ्चालन गर्नेहरुले पनि आवश्यक सतर्कता अपनाउन नसकेको देखिन्छ । मकवानपुरमा कोरोना संक्रमणको अवस्था भयावह रुपमा अहिले नै देखिएको छैन तर यसको उच्च जोखिममा भने मकवानपुर रहेको छ ।

प्रतिकृया दिनुहोस्