शैक्षिक सुधार कार्यक्रममा ४२ विद्यालय छनौट

0
162
Advertisementcorona-new-ads

सुजन ढकाल
हेटौंडा, २५ बैशाख/सामुदायिक विद्यालयहरुको स्तरोन्नती गर्नका निम्ति सरकारले पहिलो पटक राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मकवानपुरका आठ वटा गाउँपालिका, १ उपमहानगरपालिका र १ नगरपालिकाका गरी ४१ वटा विद्यालय छनौट भएका छन् । स्थानीय तह अन्तर्गत सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाको ९ वटा विद्यालय छनौट भएका छन् ।

तस्विरः गुगल

गाउँपालिका अन्तर्गत इन्द्रसरोवर गाउँपालिका र बागमति गाउँपालिकामा ६/६ वटा विद्यालय, कैलाश/बकैया/भीमफेदी र मनहरी गाउँपालिकामा समान ३ वटा विद्यालय, मकवानपुरगढी गाउँपालिका र राक्सिराङ गाउँपालिकामा समान २ वटा विद्यालय छनौट भएका छन् । यसैगरी उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेका ५ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएका छन् ।

छनौट हुनेमा थाहा नगरपालिकाको थाहा १ कुन्छालको सुनौलो मावि, थाहा ३ को जनकल्याण मावि, थाहा ६ को बज्रबाराही मावि, थाहा १० को नाट्टेश्वर मावि र शान्ति नमूना आवासीय बहिरा मकवानपुर विद्यालय रहेका छन् । हेटौंडा उपमहानगरपालिका अन्तर्गत हेटौंडा १७ मा रहेको बालबोध माध्यमिक विद्यालय, हेटौंडा १९ को अरनिको माध्यमिक विद्यालय, हेटौंडा १ को अमर माध्यमिक विद्यालय, हेटौंडा १४ को भृकुटी माध्यमिक विद्यालय, हेटौंडा १९ को निर्मल माध्यमिक विद्यालय, हेटौंडा ४ को भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा १७ को जनजागृति माध्यमिक विद्यालय, हेटौंडा ६ को कृष्ण प्राथमिक विद्यालय, हेटौंडा ११ शंकरज्योति आधारभूत विद्यालय रहेका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, कम्प्युटर (प्रति कम्प्युटर ल्याब स्थापना), पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षामा नवीन प्रविधि प्रवद्र्धन, सिकाइ सामाग्री/उपलब्धि अभिवृद्धि, विशेष विद्यालय र भौतिक पूर्वाधार तथा शैक्षिक विकास रहेका छन् । शैक्षिक सुधार कार्यक्रमको लागि सरकारले ५ अर्ब ६ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ। कार्यक्रमअन्तर्गत मुलुकभरका ४ हजार २ सय ५० विद्यालयलाई छनोट गरिएको छ। कार्यक्रमका लागि ६ हजार ९ सय २१ वटा विद्यालयले आवेदन दिएका थिए। छानिएका विद्यालयलाई ६ लाख ५० हजारदेखि १ करोडसम्म बजेट उपलब्ध गराइएको छ।

प्रतिकृया दिनुहोस्