‘झरी र उस्को कथा’

0
1149
Advertisementcorona-new-ads
रजिता कार्की, बारा

झरी र उस्को कथा
मौसममा खोट थियो
या उस्को मनमा चोट
झरझर झरी झै
बरबर खसेका आँशुहरु
बर्षाको भेल जस्तै
तुफानको बेग सँगै
छरपष्टिदै,
बग्दैछन आज
बहदैछन आज ।

चट्याङ्को बिशाल गर्जनमा
समाहित हुँदैछन
उस्का चिच्याहट पनि
र त बेजोडसँग थर्किदै छ आकाश ।
यी अन्धकारमा समेटिदैछन
उसका कैयन अमाबस्या
र त बाक्लिदै छ कालोपन
कहालिँदै भौतारिदै छ बादल ।।

घनघोर बर्षाको सुरमा
स्वतन्त्र झर्दैछन निरहरु
निरन्तर रुझ्दैछ्न नयन
पोखिएका छन कुन्ठित भावना
थोपा थोपामा बिभक्त भई।।
बिकृत मुखाकृती, बिछिप्त मन
बीभत्स पीडा, अभ्यस्त जीवन
धित मरुन्जेल उ अहिल्यै रुनु छ
चट्याङ् र बर्षातको रागमा
आलाप मिलाउदै
कसैले नदेख्ने गरि
नसुन्ने गरि ।

बर्षा रित्तियो ,
बिलिन भयो रोदनपनी
फाटेका बादल ,झुल्किएको प्रकाशमा
ताजा मुस्कान भर्दै
निर्मल प्रकृति जस्तै सङ्ग्लिएको छ नयन
बाढिपछिको नदिझै ,स्वच्छ अनि कन्चन ।।

प्रतिकृया दिनुहोस्