प्रदेश सरकारको भनाई र गराई फरक देखियो : पूर्वमन्त्री दुलाल

0
68
Advertisementcorona-new-ads

हेटौंडा, १६ जेठ/बागमती प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले प्रदेश सरकारले सिद्धान्त अनुसारको निति कार्यक्रम तथा बजेट विकास गर्न नसकेको बताएका छन् । उनले सोमबार बसेको प्रदेशसभा बैठकमा नीति कार्यक्रम तथा बजेटको सिद्धान्तका बारेमा बोल्दै प्रदेश सरकारले सिद्धान्तमा उल्लेख भए अनुसारका कार्यक्रमहरु समावेश भएर सरकारको नीति कार्यक्रम र बजेट आउनुपर्ने भएपनि त्यसो हुन नसकेको बताएका हुन् ।

चालू आर्थिक वर्षमा संघीय सरकारले सबैभन्दा बढी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कुल बजेटको २३ प्रतिशत बजेट छुट्याएको छ । तर प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै करिब १३ प्रतिशत मात्र बजेट छुट्याएको उनले बताए ।

प्रदेश सरकारको भनाई र गराई फरक भएको भन्दै चालू आर्थिक वर्षमा भौतिक विकासमा सबैभन्दा बढी ३४ प्रतिशत बजेट विनियोजन गरेको बताए । प्रदेश सरकारको प्राथमिकताको क्षेत्र सुरुङ मार्ग नभएको भन्दै संघीय सरकार राष्ट्रिय गौरवको आयोजनाहरुको अभ्यासमा रहेको समयमा प्रदेश सरकारको प्राथमिकतामा सुरुङ मार्ग कसरी प्राथमिकतामा पर्यो उनले प्रश्न गरे ।

हाल स्थानीय तहका स्वास्थ्य संस्थाको स्तरोन्नती प्रदेश सरकार प्राथमिकतामा पर्नुपर्ने उनले बताए । प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाको स्तरोन्नतीको सम्पूर्ण काम गत वर्ष नै सक्किएको भएपनि कार्यान्वयन गर्न नसकेको उनको भनाई छ ।
गत वर्ष नै स्थानीय तहका स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि भौगोलिक नक्साङ्कन सम्पन्न गरेको र त्यसतर्फ प्रदेश सरकारको प्राथमिकता रहनुपर्ने उनको भनाई छ । (स्रोतः रातोपाटी अनलाइन)

प्रतिकृया दिनुहोस्