सबै पहूँचबाट टाढा रहेको उपमहानगरको एक क्षेत्र

0
544
Advertisementcorona-new-ads

जहाँको दुःख देख्दैन स्थानीय सरकार

सम्झना रिजाल
हेटौंडा, ५ साउन/ हेटौंडा–१६ हटियाबाट फटाफट हिँड्यो भने २ घण्टाको पैदल दुरीमा पुगिन्छ हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १७ को पाँचतले । भौगोलिक रुपमा बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका भित्रै परेपनि उक्त ठाउँ सबै पहुँचबाट टाढा छ । बाटोको सुविधा अझै पुगेको छैन, मोबाइलमा नेटवर्क भेटिन्न, मुस्किलले पाँच कक्षासम्म पढाइ हुने विद्यालय छ । स्वास्थ्य क्षेत्रमा पनि उस्तै दुर्गमता छ । विरामी भइ हाले दुई घण्टाको दुरीमा स्टे«चरमा राखेर ल्याउनु पर्छ । जनप्रतिनिधि आइसके पछि अन्यत्र जति सहजता भएको छ, त्याहाँ त्यो सहजता अझै पुगेको छैन ।
‘हामीलाई उस्तै हो, जो आएपनि हाम्रोे अवस्था फेरिएको छैन,’ हेटौडा १७ पाँचतलेकी सुकुमाया घलानले भनिन्,‘अझै पनि यहाँसम्म बाटो आएको छैन । उपचार गर्न हेटौंडा नै पुग्नु पर्छ । हामीलाई यहाँ धेरै समस्या छ,’ उनले भनिन्,‘बर्षा याममा त ४ महिना जति गाँउमा मोटर आउने सम्भावना नै हँुदैन, कोहि बिरामी परेमा स्टे«चर नै खोज्नु पर्छ । त्यो पनि हेटौंडा पुग्नै दुइ घण्टा जति लाग्छ ।’ भौगोलिक विकटताकै कारण यहाँ अझैसम्म मोटरबाटो पुग्न सकेको छैन । ‘हामीले यस क्षेत्रमा सडक सञ्जालको पहुँच पु¥याउने कोशिस गरिरहेका छौं,’ वडा नम्बर १७ का वडा अध्यक्ष भैरव राई भन्छन्,‘अवस्थामा केही सुधार भएको भए पनि अपेक्षकृत हुन सकेको छैन । हामीले सकेको कोशिष गरिरहेका छौं ।’
हेटौंडा–१७ को पाँचतले, सुकौरा, बुंगेलगायतका ठाउँका बासिन्दालाई पानीको पनि समस्या छ । एक घर एक धारा नीति अनुसार धारा त छ, तर पानी नियमित आउँदैन । ‘यहाँ धारा त छ तर पानी आउँदैन,’ हेटौंडा–१७ सातबोटेकी ६६ वर्षीया महिला ठूली माया गोले भन्छिन्,‘वर्षा लागेपछि पानी आउँदैन । पानी लिन एक घण्टाको बाटो हिँडेर जानु पर्छ ।’

भूमीहिनको समस्या उस्तै
आफ्नो नाममा जग्गा नहुँदा दर्जनौं परिवार ऐलानी जग्गामा बस्न बाध्य छन् । निर्वाचन आउने बेला गाउँमा पुग्ने र सबैको हातमा लालपुर्जा पु¥याउने वचन दिने र निर्वाचन पछि सबै कुरा विसर्ने नेताहरुको आश्वासन यो गाँउका स्थानीयले भोगेको पनि कयौ बर्ष भैसकेको छ । अझै पनि लालपुर्जा पाउने कुरामा यहाँका स्थानीहरु ढुक्क हुन सक्ने अवस्था छैन । ‘हामीहरुको सबै भन्दा ठुलो समस्या त आफ्नो अलिकति पनि जग्गा छैन । कयौं बर्ष देखि यहि ठाँउमा बसिरहेका छौ तर सुकुम्बासी भएर’, हेटौडा १७ की कान्छीमाया वाइवा दुखेसो पोख्छिन्,‘सरकारले हामीलाइ आफू बस्न मिल्ने घर मात्रै बनाउने भने पनि जग्गा हाम्रो नाममा दिए हुन्थ्यो ।’ जनप्रतिनिधिहरुलाई भूमी सम्बन्धी समस्या समाधान गरिदिन्छन् भनेर भोट दिए पनि अहिलेसम्म समस्या नभएको उनको गुनासो छ । ‘यहाँ थुप्रैजनासँग लालपुर्जा छैन,’ उनले भनिन्,‘लालपुर्जा दिन्छौं भनेर भोट माग्न आए । हामीले दियौं तर, समाधान हुन सकेन ।’
भूमी सम्बन्धी समस्या समाधान आयोगले भूमीहिनहरुको लगत संकलन गरिसकेको छ । त्यस क्षेत्रको मात्रै पाँच सय भन्दा बढी भूमीहिनहरुको लगत संकलन गरिसकेको वडा अध्यक्ष राइले बताए । ‘भुमीसम्बन्धी समस्या समाधान आयोगको जिल्ला स्थित कार्यालयबाट यस क्षेत्रको भूमीहिनहरुको लगत संकलन गरी अद्यावधिकको काम भैसकेको छ’, उनले भने,‘पछिल्लो समयको विकसित राजनीतिक घटनाक्रमले यो विषय ओझेलमा पर्ने देखियो ।’
प्रतिनिधि सभा सदस्य कृष्ण प्रसाद दाहालले पनि वर्तमान सरकारको निर्णयका कारण जनताले कहिल्यै लालपुर्जा नपाउने देखिएको बताए । ‘देउवा सरकारले भूमी सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय गरे पछि भइरहेको धेरै काम प्रभावित भएको छ’,उनले भने,‘आयोगले भूमीसम्बन्धी समस्या समाधानको लागि धेरै काम अघि बढाएको थियो । जिल्लाको सबै स्थानीय तहहरुमा लगत संकलनको काम करिब सकिएको छ । यसको अद्यावधिकको काम चलिरहेकै अवस्थामा सरकारले प्रतिकुल निर्णय गरेको छ । अब भूमी हिन जनताले लालपुर्जा पाउने सपना पूरा नहुने देखिन्छ ।’

आधारभुत शिक्षाबाटै बञ्चित
हेटौंडा १७ पाँचतलेमा एउटा मात्रै प्राथमिक विद्यालय छ । त्यहाँका बालबालिकाहरु आधारभुत शिक्षाबाट समेत बञ्चित भैरहेका छन् । त्यहाँ रहेको पशुपति प्राविमा पाँच कक्षासम्म मात्र पढाइ हुन्छ । थप शिक्षाका लागि उनिहरु कि त हेटौंडा कि हटिया पुग्न पर्ने बाध्यता रहेको छ । ‘हटियामै कोठा भाडामा लिगेर पढाउन सक्ने अवस्था छैन । जसका कारण यो गाँउका धेरै बालबालीका ५ कक्षा पछि बिद्यालय छोड्न बाध्य हुन्छन्’, अभिभावक कान्छिमाया वाइवाले भनिन्,‘विद्यालयमा कम्तिमा १२ कक्षा सम्म पढ्ने वातावरण बनाउनको लागि स्थानीय सरकारसँग भन्दा विद्यार्थी संख्या कम भएका कारण सम्भव छैन भन्नुहुन्छ ।’
चेपाङ समुदायको बाहुल्यता रहेको यस भेगमा अझै पनि बालबालिकालाई विद्यालय पठाउन पर्छ, पढाउन पर्छ भन्ने चेतना राम्रोसँग पुगेको छेन । जसका कारण धेरै बालकहरु सानैमा विद्यालय छोडेर चालक तथा सहचालक हुने गरेका छन् । ५ कक्षा पछि गाँउमा विद्यायलय नहुँदा कतिपय बालिकाहरुको बाल विवाह समेत हुने गरेको वाइवा बताउछिन् ।

स्टे«चरमा स्वास्थ्य संस्था
गाउँसम्म पुग्ने बाटो बर्षा याममा सुचारु नहुँदा बिरामीलाइ स्ट्रेचरमा बोकर स्वास्थ्य संस्था लानु पर्ने बाध्यता यहाँका स्थानीयलाई छ । नजिकै स्वास्थ्य सँस्था नहुदा दुइ घण्टा भन्दा बढी पैदल हिनेर हेटौडा बजार लयाउन पर्ने बाध्यता रहेको स्थानीय ठूलीमाया गोले बताउँछिन् । स्वास्थ्य चौकी भवन निमार्णधिन अवस्थामा रहेको भन्दै वडा अध्यक्ष राईले निकट भविष्यमै स्वास्थ्य क्षेत्रको समस्या समाधान हुने दाबी गरे । अहिले सञ्चालनमा रहेको सडक चुरेको खहरे क्षेत्रबाट भएको कारण वर्षायाममा समस्या भएको बताउदै राईले बैकल्पिक मार्गको बारेमा समेत अध्ययन भैरेहेको बताए । तर स्थानीले भने स्थानीय सरकार आए पनि यहाँको समस्याको सम्बोधन हुन नसकेको गुनासो गरे ।

समूहमा विश्वास
स्थानीय सरकारको पहूँच नपुगेको विकट क्षेत्रमा समूहमा रहेर बचत ऋणको कारोबार भइरहेको छ । यसले स्थानीय महिलाहरुलाई धेरै सहज भएको छ । ‘समूहमा हामी बसेका छौं । यसले हामीलाई चाहिएको बेला पैसा दिन्छ,’ ठूलीमाया भन्छिन्,‘समूहमा बसेपछि हामीलाई धेरै सजिलो भएको छ । कमाएको थोरै रकम बचत भएको छ । चाहिएको बेलो सजिलै ऋण पाइएको छ ।’

बर्षामा पिरलो
अहिले वर्षातको समयमा पानी पर्दा त्यहाँको बासिन्दालाई पिर पर्न थाल्छ । चुरेको छेउमा रहेको वस्तिमा खहरे उर्लेर आउँदा त्यहाँ निकै समस्या पर्छ । ‘पानी पर्न थालेपछि हामी रातभरी सुत्न सक्दैनौं,’ कान्छिमाया वाइबाले भनिन्,‘खहरे उर्लेर आएपछि हामीलाई निकै गाह्रो हुन्छ । घरभित्र पानी पसेपछि हामीलाई समस्या हुन्छ ।’
प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले आफ्नो निर्वाचन क्षेत्र विकास कोषको रकमबाट तटबन्धन सुरु गरे पनि सम्पन्न नहुँदा स्थानीय अझै त्रासमा बाँच्न बाध्य छन् । अघिल्लो आर्थिक वर्षमा निर्माण सम्पन्न हुनु पर्ने भए पनि तटबन्धनको काम जारी छ । ‘यो तटबन्धन बनेपछि यहाँका समस्या समाधान हुन्छ,’ सांसद दाहालले भने,‘चुरे क्षेत्र भएकोले विकासमा पनि समस्या नै छ । तर, पनि हामीले यो क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’

प्रतिकृया दिनुहोस्