आरआर वाइसीले सी डिभिजन छनौट खेल्ने

0
300
Advertisementcorona-new-ads

हेटौंडा, ८ साउन/ मकवानपुरको मनहरी गाउँपालिका हाँडीखोलाको राप्ती रिभर युवा क्लब (आरआर वाइसी)ले सी डिभिजन लिग फुटबलको छनौट खेल्ने भएको छ । क्लबलाई व्यवसायिक बनाउँदै लिग फुटबलमा समेत पु¥याउनका लागि सी डिभिजन छनौट खेल्ने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही भदौ १ गतेबाट सी डिभिजन छनौट खेल सञ्चालन गर्दैछ । क्लबलाई ए डिभिजन लिगसम्म खेलाउने उद्देश्यले सी डिभिजन छनौटमा सहभागी हुन लागेको आरआर वाइसीका अध्यक्ष रेशम जम्कट्टेलले जानकारी दिए । सी डिभिजन छनौट खेलमा सहभागी हुन जान लागेको क्लवले खेलाडीलाई आवश्यक प्रशिक्षण गराइरहेको छ । मकवानपुरबाट यसअघि हेटौंडाको विजय यूथ क्लबले छनौट खेल खेलेपनि छनौट हुन भने सकेन । क्लबले सी डिभिजन लिगको छनौट खेल्ने निर्णय गरेसँगै मनहरी गाउँपालिका र केही हेटौंडा उपमहानगरका खेलाडीलाई समेत समेटेर प्रशिक्षण सञ्चालन भैरहेको अध्यक्ष जम्कट्टेलले बताए । सी डिभिजन छनौटमा विजेता वा उपविजेता हुने टिमले मात्रै सी डिभिजन लिग खेल्न पाउने छ ।
छनौटको लागि नेपालका विभिन्न स्थानबाट नाम चलेका क्लबहरुको सहभागिता रहने भएकोले आरआर वाइसीले पनि राम्रो तयारी गरिरहेको क्लबले जनाएको छ । सी डिभिजन खेल्न काठमाडौंसहित झापा, रुपन्देही, वीरगञ्ज, सर्लाही लगायतका जिल्लाको नाम चलेका क्लबले छनौट खेलमा भाग लिँदैछन् । सी, बी हुँदै क्लबलाई ए डिभिजन लिग खेल्नेसम्मको अवस्था निर्माण गर्ने योजना रहेको क्लव अध्यक्ष जम्कट्टेलले बताए । जिल्ला लिगसहित छिमेकी जिल्लाहरुमा हुँदै आएको विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको क्लबलाई सी डिभिजन छनौट खेल्नको लागि ओरन्टो मल्टिट्रेड प्रा.लि कम्पनीका बोर्ड अफ डाइरेक्टर ईन्दिरा शाहले एकलाख ३५ हजार रुपैयाँ सहयोग गरेकी छिन् । छनौट खेलका लागि करिब ५ देखि ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सहयोगी व्यक्ति एवम् संघसंस्थाबाट सहयोगको प्रतिबद्धता आइरहेको क्लवले जनाएको छ ।

प्रतिकृया दिनुहोस्