ए डिभिजन लिगको लागि क्लब रोज्दै मकवानपुरे फुटबलर

0
319
Advertisementcorona-new-ads

हेटौंडा, ९ साउन/ यही असोज ३ गतेबाट काठमाण्डौंमा सञ्चालन हुने भनिएको सहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा सहभागी हुने मकवानपुरे खेलाडीहरु विभिन्न क्लबमा आबद्ध हुने क्रम बढेको छ । यसअघि खेल्दै आएको क्लवलाई छोड्दै केही खेलाडीले नयाँ क्लव रोजेका छन् भने केहीले पुरानै क्लवलाई निरन्तरता दिने भएका छन् ।
अघिल्लो सिजनको ए डिभिजन लिग मनाङ मस्र्याङ्दी क्लवबाट खेलेका राष्ट्रिय टोलीका सदस्य फरवार्ड अन्जन बिष्टले यस पटकको लिग पनि मनाङबाटै खेल्ने भएका छन् । मनाङसंगको सम्झौतालाई निरन्तरता दिएको उनले बताएका छन् । यस्तै राष्ट्रिय टोलीका अर्का सदस्य मिडफिल्डर सुनिल बलले च्यासल यूथ क्लव छोडेर अघिल्लो सिजनको लिग विजेता मछिन्द्र क्लव रोजेका छन् । उनले मछिन्द्र क्लवबाट लिग खेल्न औपचारिक रुपमा हस्ताक्षर नै गरिसकेका छन् । यस्तै यसअघिको लिग मनाङ मस्र्याङ्दी क्लवबाट खेलेका रन्जन बिष्टले यस बर्ष भने न्यूरोड टिम (एनआरटी) बाट खेल्ने भएका छन् ।
रञ्जन र एनआरटीको बीचमा शुक्रबार मात्रै सम्झौता भएको छ । यस्तै मोफसलका विभिन्न प्रतियोगिताहरुमा दर्शकको मन जित्दै अघिल्लो सिजन च्यासलबाट लिग खेलेका अमिर श्रेष्ठले यसपटकको लिग जावलाखेल यूथ क्लवबाट खेल्ने भएका छन् । श्रेष्ठले जावलाखेलसंग सम्झौता गरिसकेका छन् । अघिल्लो बर्ष जावलाखेलसंग आबद्ध भएका मकवानपुरको मनहरीका मनिष पौडेल यस बर्ष पनि जावलाखेलसंगै रहने भएका छन् । यसअघि मनाङ मस्र्याङ्दी क्लवमा आबद्ध भएका गोलरक्षक अशोक बराल यस सिजन पनि मनाङमै रहने भएका छन् । मकवानपुरका अन्य तीन फुटबलरहरु बीके तामाङ, रबि लामा र रोशन दोङले सशस्त्र प्रहरीको एपीएफ क्लबबाट लिग खेल्ने भएका छन् ।
बीके र रबिले यसअघिको लिग पनि एपीएफबाटै खेलेका हुन् । रोशन भने यसअघि विग्रेड ब्वाइज क्लवसंग आबद्ध रहेका थिए । यस्तै अर्का गोलरक्षक रोहित कार्कीले संकटा क्लवसंगको पुरानो सम्झौतालाई नै नविकरण गरेका छन् । कार्की यसअघिको लिगमा पनि संकटासंगै आबद्ध रहेका थिए । यस्तै नेपाल आर्मीमा आबद्ध भएर त्रिभुवन आर्मी फुटबल क्लवबाट व्यवसायिक फुटबल खेल्दै आएका विमल पाण्डेले आर्मीबाटै लिग खेल्नेछन् । ए डिभिजन लिग फुटबलको लागि क्लवमा आबद्ध हुने खेलाडीले कम्तिमा २० हजार रुपैयाँदेखि एकलाख ५० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् ।
ललितपुरका ४ ए डिभिजन क्लब जावलाखेल, फ्रेन्ड्स, थ्री स्टार र ब्रिगेड ब्वाइज क्लबले एकपक्षीय रुपमा लिगको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले भने तोकिएकै मितिमा ए डिभिजन लिग सञ्चालन हुने बताउँदै आएका छन् । नेपालको राष्ट्रिय टोलीका सदस्यहरुले लिग खेलाडी विकासको लागि महत्वपूर्ण भएकोले कुनै पनि बाहनामा रोकिन नहुने धारणा सार्वजनिक गर्दै आएका छन् ।

धेरै खेलाडी क्लवमा आबद्ध हुनु खुसीको विषय: लामा
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले व्यवसायिक फुटबल खेलाडीहरु व्यवसायिक क्लवमा आबद्ध हुनु खुसीको बिषय भएको बताउँछन् । नियमित सञ्चालन हुने लिगले खेलाडी उत्पादनमा टेवा पु¥याउने दावी गर्दै उनले पछिल्लो समय मकवानपुरका धेरै खेलाडीहरु विभिन्न क्लवमा आबद्ध भएकोमा खुसी व्यक्त गरे ।
‘राष्ट्रिय टिममा २ देखि ३ जना नियमित परिरहेका छन् । नेपाललाई स्वर्ण पदक जिताउन मकवानपुरे खेलाडीको उत्तिकै भूमिका रहँदै आएको छ’, फुटबल संघका अध्यक्ष लामाले भने, ‘असोज ३ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको ए डिभिजन लिग खेल्न मकवानपुरका करिब १२ जना खेलाडीले विभिन्न क्लवमा हस्ताक्षर गरिसकेका छन् । यो हाम्रो लागि खुसीको कुरा हो ।’ विभिन्न क्लवमा आबद्ध भएका खेलाडीहरुले अनुशासनमा रहेर आफ्नो खेल कौशलता प्रदर्शन गर्नुपर्ने लामाको सुझाव रहेको छ । पछिल्ला बर्षहरुमा मकवानपुरका अन्जन बिष्ट, सुनिल बल, रन्जन बिष्ट र एलन न्यौपानेले राष्ट्रिय टिमबाट खेल्दै आएकोमा एलन अष्ट्रेलिया पुगेका छन् भने सुनिल र अन्जन नियमित राष्ट्रिय टिममै रहेका छन् ।

प्रतिकृया दिनुहोस्