अविवाहित किशोरी भेट्नै मुस्किल

0
311
Advertisementcorona-new-ads

सम्झना रिजाल
मनहरी, १० साउन/ मनहरी ४ नयाँबस्ती कि मीठू प्रजा अहिले २२ बर्षकी भइन् । उनका दुई वटा छोरा छन् । जेठो छोरा ४ बर्षको भईसकेको छ । उनले १७ बर्षको उमेरमा भागेर विवाह गरेकी थिईन् । अल्लारे उमेर, विवाह पछि जिन्दगी खुब रमाइलो हुन्छ होला भन्ने कल्पना, अनि आफूसँगैका साथीहरुको पनि विवाह भईसकेको अवस्थामा १७ बर्षमा नै नजिकैको केटासँग भागेकी थिईन् मीठु । ‘विहे गरेपछि जीवन रमाइलो हुन्छ होला जस्तो लाग्या थ्यो,’ उनले भनिन्,‘साथीहरुले पनि विहे गरेपछि मलाई पनि रहर लाग्यो । तर, सोचे जस्तो भएन । नहुने रहेछ ।’
कल्पना भन्दा निकै फरक थियो भोगाई । अहिले २२ बर्षको उमेरमा उनी दुई सन्तानकी आमा भइसकेकी छिन् । कलिलै उमेरमा घर अनि बालबच्चाको जिम्मेवारी उनको काँधमा छ । खेतिले बल्ल ३ महिना खान पुग्छ । श्रीमान् मजदुरी गर्छन् । अहिले उनलाई पढ्न पाएको भए पनि केहि गर्थें भन्ने लागिरहन्छ । ‘पढ्न पाएको भए मैले नि केही गर्न सक्थें । पढ्ने बेलामा विहे गरेर आइयो,’ पढाइ छोडेर विवाह गरेको उनलाई पछुतो छ । भन्छिन्,‘अहिले आएर जीवन गुजारा गर्नै मुस्किल छ । पढ्न पाएको भए अलि सहज हुन्थ्यो होला । एक जनाको कमाईले घर चल्न मुस्किल छ । उति बेला पढेको भए अहिले दुख नै पाउने थिइन तर के गर्नु साथीको लहैलहैमा सानैमा बिहे गरियो अहिले पछुतो लाग्छ ।’ आफूले सानैमा बिहे गरेर दुख पाए पनि अब भाईबहिनी अनि आफ्नै छोराहरुले चाहिँ सानैमा बिवाह नगरुन्, धेरै पढुन् भन्ने चाहाना उनको छ ।
मीठु मात्र होईन सोही गाँउकी बिस्मिता प्रजा अहिले २५ बर्षकी भईन् उनको पनि ३ जना छोराहरु छन् । जेठो छोरो ७ बर्षको भैसकेको छ । आर्थिक अवस्था कमजोर त्यहि माथी पनि उनी सानै हुँदा आमाले दोश्रो विवाह गरिन् । बा ले कान्छि आमा ल्याए । न त पढ्ने वातावरण बन्यो न घरमा बस्न नै सक्ने स्थिति थियो । उनले विवाह गर्नुको विकल्प देखिनन् । उनले १६ बर्षको उमेरमा विवाह गरिन् । तीन जना छोराहरु छन् । अझै उनी छोरीको पर्खाइमा छिन् ।
गाँउमा अविवाहित किशोरी भेट्नै मुस्किल छ । २५ बर्ष भन्दा मुनी उमेरका महिलाहरु २ देखि ४ जना बच्चाका आमा बनिसकेका छन् । २५ माथीका महिलाको ४ देखि १२ जनासम्म बच्चा छन् । ३० बर्षिय सबिता प्रजा ६ सन्तानकी आमा हुन् । १३ बर्षको उमेरमा विवाह गरिन् । तर विवाह गरेको ३ बर्षसम्म उनको सन्तान भएन । सन्तान जन्माउनको लागि उनको उमेर पनि त कहाँ भएको थियो र ? तर यो कुरा न उनको श्रीमान्ले बुझे न समाजले नै बुझ्यो । घर बाहिर निस्किए छिमेकिले मन दुख्ने गरी निसन्तान भन्थे, घर भित्र हरेक रात श्रीमान्ले बाँझी भन्दै शरीर दुख्ने गरी कुट्थे । उनी जब १७ बर्षकी भईन् अब भने उनले बाँझी जस्ता शब्द सुन्न नपर्ने भयो । उनले छोरीलाई जन्म दिइन् । श्रीमान् पनि खुसि भए । तर यो खुसि टिक्नै पाएन उनको पहिलो सन्तानले धर्ति टेकेको धेरै समय नभई छोडेर गईन् । अर्को बर्ष फेरि उनले छोरी जन्माइन् । परिवारमा खुसि छायो , करिब १७ महिनाको बिचमा अर्को पनि छोरी भए पछि भने उलाई फेरि श्रीमान्ले हेलाँ गर्न थाले । पछि फेरि छोरा जन्मियो । अब अर्को पनि छोराको आसमा उनले २ वटी छोरी जन्माएकी छिन् । थाहा छैन अझै उनलाई कति जना बच्चाले आमा भन्न पाउने छन् ।
गाउँ नजिकै चेपाङ प्राथमिक विद्यालय छ । ५ कक्षासम्म त सजिलै विद्यालय जान्छन् यो बस्तीका बालबालिकाहरु । तर जब ५ कक्षा पास हुन्छन् घरबाट एक घण्टाको बाटो हिनेर पशुपतिनाथ माध्यमिक विद्यालय मनहरी ४ मसिने पुग्न पर्ने बाध्यता छ । धेरै जसोले ५ कक्षा पढ्ने वितिकै विद्यालय छोड्छन् भने कतिपयले ८–९ मा पुगेपछि । १२ कक्षा पढ्ने बालबालिका औंलामा गन्न मिल्ने छ । यसरी विद्यालय बीचमै छोड्ने बालबालिकाहरु धेरै जसोले बाल बिवाह गर्छन् ।

विशेष कार्यक्रम ल्याइने
सानै उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्न मनहरी गाउँपालिकाले विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले चेपाङ, बोटे, बनकरीया समुदायबाट २० वर्ष पुगेर विवाह गरेर विवाह दर्ता गर्न आउनेलाई केही विशेष सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए । ‘मनहरी गाउँपालिकाको केही भेगमा अझै पनि अवस्था जटिल नै छ,’ उनले भने,‘हामीले सानै उमेरमा हुने विवाहलाई निरुत्साहित नै गरेका छौं । विशेष गरी बोटे, चेपाङ र वनकरिया समुदायका मानिसहरुको २० वर्ष पूरा गरी विवाह भएमा र त्यसरी विवाह दर्ता गर्न आएमा गाउँपालिकाले केही सहयोग गर्ने कार्यक्रम ल्याउने तयारी भइरहेको छ । यो आर्थिक वर्षमा हामी त्यस्तो सहुलियत कार्यक्रम कार्यान्वयन गर्नेछौं ।’
उनले पछिल्लो केही वर्षमा बालविवाहमा कमी आएको दाबी गरे । सबै वडाहरुमा बाल क्लबहरु गठन गरिएको भन्दै उनले विभिन्न पक्षबाट निरन्तर निगरानी भइरहेको बताए । ‘वडै पिच्छे बाल क्लब गठन गरिएको छ,’ उनले भने,‘जनप्रतिनिधिहरुले निगरानी गर्छन् । थाहा पाएसम्म बालविवाह हुन दिएका छैनौं । थाहा नै नभएको अवस्थामा पनि छ । पछिल्लो समय नियन्त्रण भएको छ । रोकथाम नै भएको छैन ।’ उनले जेठ यता धेरै बालविवाह बदर भएको भन्दै सूचना आएपछि निगरानी गरेर विवाह नै बदर गर्ने बताए । विभिन्न संस्थाहरुसँग सहकार्यमा बालविवाह निरुत्साहित गर्ने गरिएको उनले बताए ।
यता, गाउँपालिका उपाध्यक्ष मनिला विष्टले भने गाउँपालिकाले पर्याप्त लागनी गरेपनि प्रतिफल राम्रो नआएको टिप्पणी गरिन् । ‘हामीले होम स्टे सञ्चालनका लागि भनेर बजेट दिएका थियौं,’ उनले भनिन्,‘आयाआर्जनमा लाग्नु पर्छ भनेर गाउँपालिकाले त्यस क्षेत्रमा धेरै लगानी गरेको छ । तर यसको प्रतिफल राम्रो आएको छैन ।’ उनले आयआर्जनको तालिम दिए पनि काम गर्ने अवस्था नै नभएको भन्दै राहतको आशमा बनकरिया समुदाय बस्दा समस्या भएको बताइन् ।

प्रतिकृया दिनुहोस्