कोरोनाको जोखिम उस्तै, छैन सुरक्षा सावधानी

0
159
Advertisementcorona-new-ads

हेटौंडा, १० साउन/ कोरोना भाइरस (कोभिड १९)को दोस्रो भेरियन्टले धेरैको ज्यान लिइसकेको छ भने धेरै सर्वसाधारण यसबाट संक्रमित भएका छन् । नेपालमा कोरोना संक्रमण दर घटेसँगै लकडाउन र निषेधाज्ञा खुकुलो बनाइएको छ ।
यद्यपी मकवानपुरमा भने अझै नाम मात्रको निषेधाज्ञा जारी नै रहेको छ । बजार पूर्ण रुपमा खुला भैसकेको छ । यो सँगै बजारमा सर्वसाधारणको भिड समेत बढेको छ । सरकारले कोरोनाको जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गर्दै मास्क प्रयोग नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । यस्तै मकवानपुर प्रशासनले पनि दुरी कायम, मास्कको अनिवार्य प्रयोगलगायतका मापदण्ड बनाएको छ । तर त्यसको कुनै कार्यान्वयन नभएको पाइएको छ । जिल्लाका व्यवसायीहरुले स्वास्थ्यका मापदण्ड पालना नगरे निषेधाज्ञाभर पसल, व्यवसाय नै शिल गर्ने चेतावनी दिएको भएपनि व्यवहारमा भने कार्यान्वयन भएको पाइएको छ । बजारमा हिँडडुल गर्ने सर्वसाधारणले मास्कको प्रयोग कायम नगरेको, दुरी कायम नगरेको पाइएको छ । यस्तै धेरै पसल सञ्चालक आफैंले मास्कको प्रयोग नगरेको, स्यानिटाइजर नराखेको देखिएको छ ।
सार्वजनिक यातायात प्रयोग गर्ने सर्वसाधारणले पनि स्वास्थ्य सुरक्षाको पालना नगरेको पाइएको छ । प्रशासनले नियम बनाउने र आदेश दिने बाहेक प्रभावकारी केही काम नगरेको सर्वसाधारणको गुनासो छ । मकवानपुरमा अहिले पनि कोरोनाको कारण सर्वसाधारणको ज्यान गइरहेको छ । मकवानपुर प्रहरीले पनि कोरोना संक्रमण बढ्न सक्नेतर्फ सावधानी अपनाउँदै यसअघि बेला बखत राजमार्गमा छड्के चेकिङ गर्ने गरेको भएपनि अहिले यो क्रम रोकिएको छ ।
‘कोरोना संक्रमण घटेको छैन । आवश्यक सावधानी अपनाउँदै आफ्नो कामलाई अघि बढाउनुपर्ने बाध्यता पनि रहेको छ’, हेटौंडाका विशाल लामाले भने, ‘कोरोनाकै कारण सर्वसाधारणले ज्यान गुमाइरहेको समाचार आइरहँदा पनि मानिसहरुले हेलचेक्र्याइँ गरेको देख्दा अचम्म लाग्ने गरेको छ ।’ एकजनाको लापरवाहीका कारण धेरैलाई कोरोनाको संक्रमण हुनसक्छ भन्ने बुझ्न जरुरी रहेको उनले बताए । मास्क प्रयोग गर्नेहरुले पनि ढंग पु¥याएर मास्क लगाउने नगरेको औषधी व्यवसायी संघ मकवानपुर अध्यक्ष सुधीर दाहालको भनाई छ । यता मकवानपुर उद्योग वाणिज्य संघले पनि उद्योगी व्यवसायीहरुलाई सुरक्षाको मापदण्ड पालना गरेर मात्रै व्यवसाय गर्न अनुरोध गर्दै आएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाही हुने चेतावनी दिएका छन् । संक्रमण फैलिनसक्ने अवस्था कायमै रहेकोले सबैले यसतर्फ ध्यान दिनुपर्ने र आवश्यक सचेतता अपनाउनुपर्ने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्