चित्रेपानी वनद्वारा ६ जनालाई सम्मान

0
57
Advertisementcorona-new-ads

हेटौंडा, १० साउन/ हेटौडा ६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले विभिन्न विधामा काम गर्ने ६ जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।
समूहको आईतबार भएको २० औं वार्षिक साधारणसभाको अवसरमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत इमनाथ पौड्याल, सव डिभिजन वन कार्यालय हेटौडाकी प्रमुख गायत्री शर्मा, हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सञ्चारकर्मी भीमसेन पौडेल, डावर नेपालका एशोसियट म्यानेजर विष्णु केसी र चित्रेपानी सामुदायिक वन उपभोक्ता समूह हेटौडा ८ की अध्यक्ष बालकुमारी थापालाई सम्मान गरिएको हो ।
डिभिजनल वन अधिकृत इमनाथ पौडेलको प्रमुख आतिथ्यता एवम् समूहका अध्यक्ष सूर्य बहादुर घलानको अध्यक्षतामा साधारण सभा भएको हो । कार्यक्रममा समूहकी सचिव रजनी गौतमले प्रगति प्रतिवेदन, लेखा संयोजक भानुप्रताप विडारीले लेखा समितिको प्रतिवेदन र चालु आर्थिक वर्ष २०७८/०७९ को लागि करिब ४९ लाख रुपैयाँ बराबरको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
साधारणसभामा हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, रोटरी क्लव हेटौडाका अध्यक्ष राम प्रसाद शर्मा, समूहकी सहसचिव सविना विक, सल्लाहकार कुमार तिमल्सिना लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभा श्रावण १५ गते समापन हुने समूहले जनाएको छ ।

प्रतिकृया दिनुहोस्