९० प्रतिशत खर्च हुने दाबी

0
55
Advertisementcorona-new-ads
पत्रकार सम्मेलनमा आर्थिक मामिला मन्त्री ढुंगेल

हेटौंडा, १३ साउन/ बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा ९० प्रतिशत खर्च हुने दाबी गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशत बजेट खर्च गर्न सफल भएर उत्साहि देखिएको प्रदेश सरकारले चालु आर्थिक वर्षमा ९० प्रतिशत बजेट खर्च हुने प्रक्षेपण गरेको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले अघिल्लो आर्थिक वर्षमा देखिएको खर्च क्षमता यो वर्ष बढेर जाने दाबी गरे ।
‘विहानीले दिनको संकेत गर्छ भने झैं हामीले यो वर्ष केही राम्रा संकेतहरुको सुरुवात गरेका छौं,’ उनले भने,‘गएको आर्थिक वर्षमा निकै राम्रो खर्च भएको छ । यसले चालु आर्थिक वर्षको बजेट पर्याप्त खर्च हुने संकेत गरेको छ । सूर्योदय राम्रो छ ।’ राजश्व संकलनको अवस्था पनि सुधारात्मक भएको दाबी गर्दै आर्थिक मामिला मन्त्रालयका सचिव डण्डुराज घिमिरेले चालु आर्थिक वर्षमा ७० अर्ब हाराहारी राजश्व उठ्ने दाबी गरे । ‘हामीले बजेटको आकार ठूलो बनायौं भनेर चौतर्फि आलोचना पनि भयो,’ उनले भने,‘तर, अघिल्लो आर्थिक वर्षको राजश्व संकलनको अवस्था हेर्दा चालु आर्थिक वर्षमा हामीले धेरै सफलता पाउने प्रक्षेपण गर्न सकिन्छ । अहिले ५८ अर्बको बजेट बनेको छ । हामीले करिब ७० अर्ब हाराहारी राजश्व संकलन गर्न सक्ने अनुमान गरेका छौं ।’ अघिल्लो आर्थिक वर्षको बजेट खर्च ऐतिहासिक भएको दाबी गर्दै उनले यसले प्रदेश सरकारलाई उत्साहित बनाएको बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार राजश्व संकलनमा वर्षेनी वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७५÷७६ मा मात्रै राजश्व संकलनमा कमी आएको मन्त्री ढुंगेलले बताए । उक्त आर्थिक वर्षमा ३५ अर्ब ६१ करोड रुपैयाँ संकलनको लक्ष्य लिएकोमा ९४.८३ प्रतिशत अर्थात ३३ अर्ब ७७ करोड रुपैयाँ मात्रै संकलन भयो । आर्थिक वर्ष २०७६÷७७ मा ४७ अर्ब ६० करोडको बजेट बनेकोमा ४८ अर्ब ३५ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यो अनुमानित राजश्वको १०१.५७ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा ५१ अर्ब ४२ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएकोमा ६० अर्ब १५ करोड अर्थात ११६.९७ प्रतिशत राजश्व संकलन भएको छ । ‘यो राजश्वको विवरणले पनि हामीलाई बजेट कार्यान्वयनमा समस्या नहुने देखिन्छ,’मन्त्री ढुंगेलले भने,‘राजश्व परिचालनमा केही जटिलता देखिए पनि हामीले गर्ने खर्च उत्साहजनक छ । केही अवरोधका बाबजुद पनि अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशत खर्च भयो । अब चालु आर्थिक वर्षमा ९० प्रतिशत बजेट खर्च हुनेछ ।’
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकार पनि असारे विकासमा लागेको भन्ने भनाई अस्विकार गरे । उनले बजेट चक्र पूरा गर्ने क्रममा असारमा धेरै खर्च देखिएको दाबी गर्दै असारे विकासको पछि नलागेको बताए । ‘हामी असारे विकासमा छैनौं,’ उनले भने,‘बजेट चक्र पूरा गर्ने क्रममा असारमा धेरै खर्च हुने देखिन्छ । यो स्वभाविक हो । असारमा भएका कामहरुको भुक्तानी धेरै हुँदा यो महिनामा धेरै खर्च भएको देखिन्छ । तर, हामीले असार लक्षित विकास गर्न खोजेका होइनौं ।’

समपुरकमा वृद्धि
बागमती प्रदेश सरकारले स्थानीय तहहरुलाई दिने समपुरक अनुदानमा वर्षेनी वृद्धि गर्दै लगेको छ । आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ समपुरक अनुदान दिएको प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा २ अर्ब ६३ करोड १६ लाख रुपैयाँ अनुदान दिएको थियो । चालु आर्थिक वर्षका लागि यो रकम बढाएर २ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ पु¥याइएको छ । ‘स्थानीय तहहरुले छनोट गरेको आयोजनाहरुमा प्रदेश सरकारको पनि लगानी रहने व्यवस्थाका लागि यो अनुदान दिइएको हो,’ उनले भने,‘यसो हुँदा काम प्रभावकारी हुने देखियो । हामीले चार वर्षको बजेट अध्ययन गर्दा समपुरकमा भएका कामहरु सबै भन्दा बढी प्रभावकारी भएको पायौं । यसले स्थानीय तहहरुलाई अपनत्वको विकास हुने र प्रदेशले पनि सहयोग गरेको देखिने हुँदा यो प्रभावकारी देखियो । समपुरक अनुदानको रकम हामी अझै बढाउँदै लैजानेछौं ।’
सशर्त अनुदानमा भने कटौती गर्दै लगिने उनले बताए । प्रदेशले नै आयोजना छनौट गरेर स्थानीय तहहरुलाई दिइने हुँदा यसको कार्यान्वयन प्रभावकारी नभएको भन्द उनले स्थानीय तहहरुबाटै योजना छनौट भएर आए पछि कार्यान्वयन प्रभावकारी हुने बताए । ‘हामीले दिएको आयोजना कार्यान्वयन गर्न स्थानीय तहहरुलाई पनि समस्या नै देखियो,’ आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलेले भने,‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सुझाव बमोजिम वित्तीय समानीकरण अनुदानलाई बढाउँदै लैजाने र सशर्त अनुदानलाई घटाउँदै लैजाने नीति प्रदेश सरकारले लिएको छ ।’

प्रतिकृया दिनुहोस्