मकवानपुरमा फेरि १० दिन थपियो निषेधाज्ञा

0
93
Advertisementcorona-new-ads

हेटौंडा, १३ साउन/ मकवानपुरमा फेरि १० दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जिल्लामा कोभिड १९ संक्रमण दर घट्दै गएको तर जोखिम यथावत् नै रहेको भन्दै १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
मकवानपुरका सर्वसाधारणले भने प्रशासनले नाम मात्रको निषेधाज्ञा थपिरहेको गुनासो गर्न थालेका छन् । जिल्लामा सबैखाले पसलहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्ने, औषधी पसल, कृषि बीउबीजन तथा मल पसल, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर, पुस्तक तथा पत्रपत्रिका पसल नियमित सञ्चालन गर्नुपर्ने, अत्यावश्यक उपभोग्य वस्तु विक्री वितरण गर्ने पसल विहान ४ देखि बिहान ११ बजेसम्म र अन्य गैर खाद्य पसलहरू विहान ११ देखि ६ बजेसम्म खोल्न पाइने यसअघिकै निर्णयलाई निरन्तरता दिइएको छ । रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलबाट टेकअवे र होम डेलिभरी विहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने, होटल तथा लज बेड क्षमताको एक तिहाईमा मात्र सञ्चालन गर्नुपर्ने, होटल, लज, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलमा काम गर्ने कर्मचारी र कामदारले अनिवार्य मास्क एवम् फेसशिल्ड प्रयोग गर्नुपर्नेछ ।
होटल, लज तथा रेष्टुरेन्टमा कुनैपनि प्रकारको भोज भतेर, भेला, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार भने सञ्चालन गर्न नपाइने निर्णय भएको छ । पसल तथा व्यवसाय सञ्चालन गर्दा व्यवसायीले अनिवार्य मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता गर्नुपर्ने, जनस्वास्थ्यका मापदण्डहरू पालना नभएको पाइएमा अनुगमन समितिको सिफारिसमा उक्त पसल तथा व्यवसाय निषेधाज्ञा अवधिभर बन्द गरिने चेतावनी समेत दिइएको छ ।
यस्तै यातायाततर्फ सार्वजनिक यातायातका सवारी विहान ६ देखि बेलुकी ७ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने, कुल सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने, सबै यात्रुहरूलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न लगाउनुपर्ने निर्णयलाई निरन्तरता दिइएको छ । सवारी साधनको ढोकामा र सवारी साधनभित्र अनिवार्य सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले मास्क र भाइजर लगाउनुपर्ने, सवारी साधनलाई दैनिक निसंक्रमित गर्नुपर्ने, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रूपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्नेछ ।
यस्तै मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने, अन्य जिल्लाबाट आएका पूर्व–पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधन तथा निर्माण सामग्री ढुवानीका साधनहरु यस जिल्लामा नरोकिने गरी आवतजावत गर्नुपर्ने निर्णय गरिएको छ ।
बैंक, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तिय सहकारी संस्थाबाट प्रदान गरिने सेवाहरु अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी भिडभाड नहुने गरी नियमित रुपमा सञ्चालन गर्नुपर्ने, वित्तिय तथा सहकारी संस्थाबाट समूह भेला गरी रकम संकलन गर्ने, गराउने कार्य पूर्णरूपमा बन्द गर्नुपर्ने निर्णय गरिएको छ । शैक्षिक संस्थाहरू तालिम केन्द्र, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल, पिकनिक स्थल, सार्वजनिक पुस्तकालय, संग्राहलय, चिडियाखाना, स्पा, सैलुन, ब्यूटीपार्लर, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, स्ट्रिट फुड पसल, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति भने पूर्ण रुपमा बन्द रहने निर्णय यथावत् रहेको छ ।

निषेधाज्ञाको निरन्तरता आवश्यकता हो: प्रजिअ
यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यो नाम मात्रको निषेधाज्ञा नभई आवश्यकता भएको बताएका छन् ।
‘निषेधाज्ञा भनेको लकडाउन अर्थात् सबै बन्दाबन्दी गर्नु होइन । मकवानपुरमा निषेधाज्ञा थप्नु आवश्यक भएकोले थपिएको हो । यसलाई नाम मात्रको भन्न मिल्दैन’, प्रजिअ पाण्डेले भने, ‘बुधबार बसेको बैठकले १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । केही क्षेत्र निषेध गर्ने भएकैले निषेधाज्ञा भनिएको हो ।’ निषेधाज्ञा कोही व्यक्ति विशेषलाई नभएको उल्लेख गर्दै उनले सबै सचेत हुनुपर्ने औंल्याए । जिल्लामा अझै ५ सय भन्दा बढी सकृय संक्रमित भएकोले अहिल्यै निषेधाज्ञा हटाउन मिल्ने अवस्था नरहेको उनले प्रष्ट पारे ।
‘निषेधाज्ञामा पूर्ण रुपमा व्यवसाय खुलेको छैन, सिनेमा हल, पार्टी प्यालेस, खेल मैदान अझै बन्दकै अवस्थामा छ । प्रदर्शन भेलालगायतका कार्यक्रम गर्न अनुमति दिइएको छैन’, प्रजिअ पाण्डेले भने । नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला पर्दै गएको भन्दै उनले सुरक्षा सावधानी अपनाउन मकवानपुरबासीलाई अनुरोध गरे ।

प्रतिकृया दिनुहोस्