हेटौंडा अस्पतालको नयाँ भवनको शिलान्याश

0
64
Advertisementcorona-new-ads

हेटौंडा, १९ साउन/ हेटौंडा अस्पतालको नयाँ भवनको शिलान्याश गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार विहान अस्पतालको शिलान्याश गरेका हुन् । २ सय शैय्याको अस्पताल निर्माण सम्पन्न भए पछि हेटौंडा अस्पताल ५ सय शैय्याको हुनेछ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन कार्यालयले वितेको असार १८ गतेनै विकेओआइ र नव श्रीजनशिल निर्माण कम्पनिसंग ठेक्काको संझौता गरिसकेको शहरी विकास तथा भवन कार्यालय हेटौंडाका सिनियर डिभिजन इन्जिनियर राजेश कुमार पौडेलले जानकारी दिए । तीन वटा व्लक निर्माण हुने छन् । त्यस मध्यमा एउटा व्लकमा पार्किङ गर्नका लागि अण्डरग्राउन्ड समेत निर्माण गरिने उनले बताए । निर्माण कम्पनिले २०८० साल पुस १६ गते अस्पताल निर्माणको काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान द्वारा सञ्चालित हेटौंडा अस्पतालका लागि ६ तले भवन निर्माण हुनेछ । अस्पतालको भवन भ्याट सहित २३ करोड २७ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको छ ।
अस्पतालको शिलान्याश गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पताललाई निकट भविष्यमा नौ सय बेडको बनाउने बताए । ‘हामीले स्वास्थ्य क्षेत्रको पूर्वाधारको विकासमा निकै ठूलो फड्को मारेका छौं,’ उनले भने,‘अब केही दिनमा अर्को भवनको पनि शिलान्याश हुँदैछ । यसो हुँदा हेटौंडा अस्पतालमा पूर्वाधारको पर्याप्तता हुन्छ ।’ उनले हेटौंडा अस्पतालमा अब सबै प्रकारको विशिष्ट सेवा उपलब्ध हुने पनि बताए । ‘हामीले पूर्वाधार निर्माण सक्ने वित्तिकै सबै प्रकारको विशिष्ट सेवाहरु उपलब्ध हुन्छ,’ उनले भने,‘हेटौंडा अस्पतालको यो विकासले हेटौंडाको स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी फड्को मारेको छ । कामहरु धेरै भएको छ।’ उनले हेटौंडा अस्पतालमा अब छिट्ट्रै एमआरआई र सिटिस्क्यान सेवा पनि सुचारु हुने बताए ।
‘हेटौंडामा स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गरिएको छ,’ उनले भने,‘पहिले हेटौंडा अस्पतालबाट धेरै विरामी रिफर हुने भएपनि अब भने बाहिरी जिल्लाबाट बिरामीहरु रिफर भएर हेटौंडा अस्पताल आउने वातावरण बनेको छ । प्रदेश सरकारले सञ्चालन गरेका अस्पतालमा निकै परिवर्तन भएको छ ।’ उनले हेटौंडा अस्पताल प्रतिष्ठान मातहत आएपछि धेरै सुधार भएको दाबी गरे । हेटौंडा अस्पताललाई प्रदेशकै गहनाको रुपमा अगाडी वढाउने उनले बताए । निर्माण कम्पनिलाई भवन निर्माणको काम छिटो सकेर पुरस्कार लिनका लागि समेत उनले आग्रह गरे । निर्माण कम्पनिले गरेका काम समयमै नसक्दा सरकार वदनाम हुने गरेकाले समयमै सक्नका लागि उहाँले निर्देशन समेत दिए ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले प्रदेश सरकारले काम गरेर देखाउने बताए । प्रदेश सरकारले भवन निर्माण र सडक निर्माण मुख्य प्राथमिकता दिएर काम गरेको भन्दै उनले बागमती प्रदेशमा सुरुङ युगको सुरुवात भइसकेको बताए । भौतिक वूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिब बरालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, राज्यमन्त्री रामकुमार अधिकारी, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलिया लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्