संक्रमण बढेपछि मकवानपुरमा फेरि जोरविजोर

0
48
Advertisementcorona-new-ads

हेटौंडा, २४ साउन/ कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर बढ्न थालेपछि मकवानपुरमा सञ्चालन हुने यातायातका सवारी साधनमा फेरि जोरविजोर प्रणाली सुरु गरिने भएको छ । आज सोमबारबाट लागू हुने गरी मकवानपुरमा जोरविजोर प्रणाली सुरु गर्ने निर्णय भएको हो ।
शनिबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सोमबारबाट सवारी साधनमा जोरविजोर लागू गर्ने निर्णय गरेको हो । ‘मकवानपुरमा कोरोना संक्रमितको संख्यामा कमी आएसँगै हामीले जोरविजोर प्रणाली हटाएका थियौं । यद्यपी निषेधाज्ञालाई भने निरन्तरता दिँदै आएका छौं’, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले भने, ‘२५ गते सोमबारबाट जिल्लामा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीमा जरुोरविजोर प्रणाली लागू हुनेछ । सबैले यसको पालना गर्नुपर्नेछ ।’ शनिबार बसेको कोभिड व्यवस्थापन समितिको जिल्ला बैठकले एकसाता निषेधाज्ञा थप गर्ने निर्णय समेत गरेको छ । एम्बुलेन्स, विरामी बोकेको गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री, फोहोर व्यवस्थापन, शव बहान तथा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, दूर सञ्चार, विद्युत, इन्टरनेट तथा प्रशासन कार्यालयबाट अनुमति लिएका लगायतका अत्यावश्यक सेवाका सवारीलाई भने जोरविजोर प्रणाली लागू हुने छैन ।
निजी यात्रुबाहक सवारी मोटरसाइकल, अटो, मयुरी, टेम्पोलगायतका सवारीहरु समेत जोरविजोर प्रणालीको आधारमा सञ्चालन गर्नुपर्नेछ । निषेधाज्ञाको समय अवधिमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने, सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, सबै यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सवारीको ढोका र भित्र अनिवार्य सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउनुपर्नेछ । सार्वजनिक यातायातमा कुनै व्यक्तिले मास्क नलगाइ आएमा बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई सवारी प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । अन्य जिल्लाबाट आउने सवारी साधन भने मकवानपुरमा नरोकिएर आवतजावत् गर्नुपर्ने निर्णयमा उल्लेख छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयन भने निकै कम हुने गरेको सर्वसाधारणको गुनासो छ । मकवानपुरसहित देशैभर कोरोना संक्रमितको संख्या बढ्न थालेकोले प्रशासनले निषेधाज्ञालाई कडाईका साथ पालना गराउनुपर्ने सर्वसाधारणको सुझाव छ ।

प्रतिकृया दिनुहोस्