फिचर लेखनमा प्रदेश दैनिकका अर्याल प्रथम

0
136
Advertisementcorona-new-ads

हेटौंडा, २ भदौ/ नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आयोजना गरेको फिचर लेखन प्रतियोगितामा यस प्रदेश राष्ट्रिय दैनिक तथा रेडियो मकवानपुरमा आबद्ध पत्रकार प्रमोद अर्याल प्रथम भएका छन् । अन्य १३ प्रतिस्पर्धीलाई उछिन्दै प्रथम भएका अर्यालले नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । रेडियो मकवानपुर तथा प्रदेश दैनिकमै आबद्ध पत्रकार सम्झना रिजाल सान्त्वना भएकी छिन् ।
उनले नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा छहारी नेटवर्कमा कार्यरत भावना रिजाल द्वितीय र नयाँ पत्रिका दैनिकका मकवानपुर सम्वाददाता सुदीप शिवाकोटी तृतीय भए । उनीहरुले क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा पत्रकारहरु निशा गुरुङ, प्रेमकला पौडेल प्रिया, मसान उपासक, रन्जिता डंगोल, श्रीराम अर्जुन र सुनिता बिष्टले सान्त्वना स्थान हाँसिल गरे । सान्त्वना भएका सबै पत्रकारले नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । बुधबार एक एक कार्यक्रमकाबीच विजयी पत्रकारहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कोरोनाको कारण समस्यामा रहेका पत्रकारलाई लेखनवृत्तिको विकास गर्दै नगद उपलब्ध गराउने उद्देश्य बमोजिम आयोजित प्रतियोगितामा १४ पत्रकारले सहभागिता जनाएका थिए । प्रतियोगितामा पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षद्वय राममणी दाहाल र भानुभक्त आचार्य तथा अग्रज पत्रकार रामकुमार एलन निर्णायक रहेका थिए । विजयी एवम् सहभागी पत्रकारहरुलाई बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु र पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले पुरस्कार वितरण गरेका हुन् । प्रमुख अतिथि छिन्तुले पत्रकारको क्षमता विकासका लागि महासंघले लेखन प्रतियोगिताको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे । मकवानपुरको पत्रकारिताको विकासका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाई थियो ।
महासंघ मकवानपुर अध्यक्ष गौतमको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा आफ्नो धारणा राख्दै प्रथम भएका प्रमोद अर्यालले महासंघले पत्रकारको हितमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन जरुरी रहेको बताए । कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, मकवानपुर शाखाका पूर्व अध्यक्ष नवराज शर्मा, महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासंघ निवर्तमान अध्यक्ष हरि हुमागाइँ, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी पोष्टराज, निर्णायक रामकुमार एलन, शाखा उपाध्यक्ष सरला अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । महासंघ मकवानपुरले बर्षमा तीनवटा फिचर लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । फिचर लेखन तालिमको समेत आयोजना गर्ने योजना रहेको शाखा अध्यक्ष गौतमले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्