ठेकेदारको लापरवाहीले टोलबासीलाई सास्ती

0
155
Advertisementcorona-new-ads

सुजन ढकाल
हेटौंडा, ९ भदौ/१५ दिनभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको ओम साई एण्ड जेभी कम्पनीले सडक स्ल्याव ढलानको कार्य नगर्दा हेटौंडा १० को भुटनदेवी टोलबासीले सास्ती खेप्नु परेको छ ।

सहायक प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै टोल विकासका प्रतिनिधिहरु

गत असार ४ गते १५ दिनभित्रमा स्ल्याव ढलान सम्पन्न गर्ने गरी तुलसीमेहर विद्यालयदेखि नेपाल विद्युत प्राधिकरण गेटसम्मको पिच सडक भत्काइएको थियो । निर्माण कम्पनीले कार्य सम्पन्न नगर्दा सडक नै अस्तव्यस्त बनाएको भन्दै भुटनदेवी टोल विकास संस्थाले विभिन्न निकायलाई बुधबार ध्यानकर्षण पत्र बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई ज्ञापन पत्र बुझाउँदै भुटनदेवी टोल विकास संस्थाका अध्यक्ष घनश्याम सापकोटाले भने, ‘१५ दिनभित्रमा काम सम्पन्न गर्ने गरी काम सुरु गरेको ओम साई एण्ड कम्पनीले सडक निर्माण गर्नु त कता हो कता सडक नै अस्तव्यस्त नै बनाइदिएको छ । सडक नै अस्तव्यस्त भएकोले गर्दा सवारी आवतजावत गर्दा सवारीमा क्षति पुग्ने, पल्टने गरेकोले मानिसहरु घाइते समेत भएका छन् ।’

बागमती प्रदेश सरकारबाट ठेक्का प्राप्त गरी कम्पनीले असार १९ गते सम्ममा काम सम्पन्न गर्ने गरी टोल विकास संस्थाका प्रतिनिधि तथा टोलबासीसंग मौखिक वार्ता अनुरुप काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । १५ दिनभित्रमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको कम्पनीले साउन महिनामा सडकमा ग्रावेल खसालेर सम्पर्कविहीन भएको स्थानीयको आरोप छ । भदौ ५ गते बसेको भुटनदेवी टोल विकास संस्थाको संयुक्त भेलाले विभिन्न निकायलाई ध्यानकर्षण पत्र बुझाएको मितिले सात दिनभित्रमा समस्या समाधान नभएमा सडक अवरुद्ध गर्ने निर्णय गरेको छ ।

यता ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बजेट विनियोजन गर्ने सम्बन्धित निकायलाई कार्यान्वयनका लागि संस्थाले ध्यानकर्षण जनाउनुपर्ने सुझाव दिए । निर्माण कम्पनीले समयमा काम किन सम्पन्न गरेन भनेर सम्बन्धित निकायलाई डेलिगेसनमार्फत झक्झक्याउनुपर्ने उनले बताए ।

सम्झौता अनुसार काम नहुनुको कारण बुझ्न खोज्दा ओम साई एण्ड कम्पनी जेभिका सञ्चालक होमनाथ गौतमसंग सम्पर्क हुन सकेन ।

प्रतिकृया दिनुहोस्