वागमती प्रदेशसभाको अधिवेशन अन्त्य

0
99
Advertisementcorona-new-ads

हेटौंडा, ११ भदौ/ वागमती प्रदेशको प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । वागमती प्रदेश सरकारले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको अधिवेशन अन्त्य गरेको हो । बैठकले शुक्रबार राति १२ बजेबाट प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री पद गुम्ने भएपछि पार्टी एकताको लागि डोरमणि पौडेले राजीनामा दिएर मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा बसेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो । मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले अधिवेशन अन्त्य भएको पत्रमा हस्ताक्षर गर्दै प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन् । डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारकारले प्रदेशसभाको आठौं अधिवेशन जेठ १६ गतेबाट सुरु गरेको थियो । वागमती प्रदेशमा सरकार सञ्चालन गरिरहेको नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएपछि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार संकटमा परेको छ । यसअघि मुख्यमन्त्री रहेका डोरमणि पौडेलको विरुद्ध अविश्वास प्रश्ताव दर्ता भएपछि यसैगरी एकाएक प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो । अहिले शाक्यले पनि त्यसैको निरन्तरता दिएको भन्दै आलोचना सुरु भएको छ । एमालेमा रहँदा माधवकुमार नेपाल पक्षधर रहेकी शाक्य मुख्यमन्त्री बनेपछि ‘पर्ख र हेर’को अवस्थामा रहेकी छिन् । आफ्नो सरकार ढल्नेभएपछि डोरमणि पौडेलले बुनेको जालमा अष्टलक्ष्मी परेको चर्चा समेत हुने गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएसंगै वागमती प्रदेशमा शाक्यको सरकार संकटमा परिसकेको छ । शाक्यकै नेतृत्वमा रहेको सरकारका एक मन्त्रीसहित केही प्रदेशसभा सदस्यहरु नेपालले दर्ता गरेको पार्टीमा खुलिसकेका छन् । बागमती प्रदेशसभामा कुल १०९ जना सदस्य रहेका छन् । बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ । दल विभाजन अघि एमालेसंग सभामुखसहित ५६ सदस्य रहेको थियो । केही प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) मा लागेसंगै अहिलेको प्रदेश सरकार संकटमा परेको छ । पार्टी विभाजनपछि आएको समस्या छल्नको लागि प्रदेशसभाको अधिवेशन अन्त्य गरेको आरोप छ ।

प्रतिकृया दिनुहोस्