जेसीजको क्षेत्र ‘ख’ सम्मेलन तयारी तीव्र

0
224
Advertisementcorona-new-ads

हेटौंडा, ११ भदौ/ मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी तीव्र पारिएको छ । पालुङ जेसीजको आतिथ्यतामा यही भदौ २० र २१ गते हुन लागेको जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी तीव्र पारिएको हो । सम्मेलनको मिति नजिकिँदै जाँदा आतिथ्य शाखा पालुङ जेसीजले तयारीलाई अन्तिम रुप दिन लागिपरेको छ । सम्मेलनलाई भव्य बनाउन सम्मेलन निर्देशक समिति, विभिन्न उपसमितिहरु निर्माण गरिएको छ । ‘नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन भव्य बनाउने उद्देश्यले हामीले सकेको प्रयास गरिरहेका छौं । आवश्यक तयारीलाई द्रुत गतिमा अघि बढाएका छौं’, पालुङ जेसीज बर्ष सन् २०२१ का अध्यक्ष नवराज लामाले भने, ‘कोरोना भाइरसको महामारीकै अवस्था रहेकोले कार्यक्रमलाई सेमी फिजिकल बनाउनेछौं ।’ कार्यक्रममा सहभागी हुनेलाई स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न लगाइने उनले बताए । सम्मेलन निर्देशक सुरेन्द्रमान प्रधानले तयारी करिब अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘हामीले सन् २०१५ मा पनि क्षेत्र ‘ख’ सम्मेनलको आतिथ्यता गरिसकेका छौं । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न समिति बनाएर आ–आफ्नो क्षेत्रको काम भैरहेको छ’, सम्मेलन निर्देशक प्रधानले भने, ‘सहभागीहरुलाई अर्गानिक खानेकुरा खुवाउनेछौं । तालिमको लागि छुट्टाछुट्टै हलको व्यवस्था गरेका छौं । मनोरन्जनका कार्यक्रमहरु पनि हुनेछ ।’ नेतृत्व र व्यक्तित्व विकास एवम् सामाजिक कार्यमा कृयाशील जेसीजको नेपालमा ४ वटा क्षेत्र रहेको छ । मकवानपुुरका शाखाहरु क्षेत्र ‘ख’ अन्तर्गत रहेका छन् । क्षेत्र ‘ख’ मा ३५ वटा शाखा रहेको छ । पालुङ जेसीज सन् २००० मा स्थापना भएको हो । सम्मेलनमा नेपाल जेसीजका पदाधिकारी, क्षेत्र ‘ख’ अन्तर्गत ३५ वटा शाखाका अध्यक्षहरु लगायत सहभागी हुनेछन् ।

प्रतिकृया दिनुहोस्