राजमार्गको बैकल्पिक व्यवस्थाका लागि पहल

0
309
Advertisementcorona-new-ads

हेटौंडा, १९ भदौ/हेटौंडा बसोबास मूल संरक्षण समितिले बजार क्षेत्रबाट राजमार्ग निर्माण हुन नहुने भन्दै यसको विकल्प रहेको बताएको छ । शनिबार मकवानपुर उद्योग वाणिज्य संघमा पत्रकार सम्मेलन मार्फत संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै समितिले राजमार्ग विस्तारका लागि बजार क्षेत्रमा आउन नपर्ने गरी यहाँ विकल्प रहेको दाबी गरेको हो ।

प्रतिनिधिसभा सदस्य कृष्ण दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई र संविधान सभा सदस्य अनन्त पौडेलले समेत हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा कुनै पनि हालतमा राष्ट्रिय राजमार्ग बजार क्षेत्रबाट हुन नहुने अडान व्यक्त गरिएको छ । सडक विस्तारको विषय फेरि चर्चामा आएसँगै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको हेटौंडा बसोबास मूल संरक्षण समितिले सक्रियता बढाएको छ । समितिले जिल्लाका सबै राजनीतिक दलहरुलाई सडक विस्तारको लागि बैकल्पिक व्यवस्था भएकोले त्यसैको प्रयोग गर्ने गरी सरकारबाट निर्णय गराउन पहल गरिरहेको छ । ‘हामीसँग उपयुक्त विकल्प तयार छ,’ कटुवालले भने,‘यसका लागि प्रारम्भिक चरणको सर्वेक्षण समेत भइसकेको छ । उक्त सर्वेक्षणले चुरियामाईदेखि राप्ति पुलसम्मको बाटो निर्माणको सम्भावना रहेको स्पष्ट पारेको छ । तसर्थ हामी सरकारलाई उक्त विकल्पमा काम गर्न अपिल गर्छौं ।’

राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले प्रारम्भिक सर्वेक्षणबाट विकल्प तयार हुने सक्ने देखिएकोले सोही बाटोको प्रयोग हुने दाबी गरे । ‘सरकारले अब निर्णय गर्न बाँकी छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री नहुँदा अहिले समस्या भएको हो,’ उनले भने,‘सडक विस्तारका लागि शहरी क्षेत्र कुनै पनि हालतमा उपयुक्त हुन्न । शहर बचाउने र सडक पनि बन्ने विकल्पमा हामी काम गराउन पहल गरिरहेका छौं ।’ उनका अनुसार प्रारम्भिक सर्वेक्षणबाट करिब २ अर्ब रुपैयाँमा उक्त सडक बन्न सक्छ । चुरियामाईदेखि राप्तिपुलसम्म करिब ८ किलोमिटर बाटो बनाउँदा राप्ति नदी नियन्त्रण गर्ने र ५० मिटर चौडा बाटो बनाउँदा उक्त खर्च हुन सक्ने प्रारम्भिक अध्ययनबाट देखिएको भन्दै उनले शहर भत्काएर सडक विस्तार गरे भन्दा निकै कम खर्चमा बैकल्पिक बाटो बन्ने दाबी गरे ।

प्रतिनिधिसभा सदस्य कृष्ण दाहालले विगत केही वर्षदेखि प्रधानमन्त्रीस्तरमा कुरा भइरहेको भन्दै उनले शहर नमासी बैकल्पिक सडक बन्ने दाबी गरे । ‘हामी विकास विरोधी होइनौं । यहाँ भ्रम फैलाउन खोजिएको छ,’ उनले भने,‘चार वटा राजमार्ग प्रवेश गर्ने क्षेत्र हेटौंडा बजार हुँदा यहाँ अस्वभाविक भीड बढ्छ । यसको नियन्त्रणका लागि हामीसँग विकल्प छ । विकल्प नहुँदा बजार क्षेत्र नै भत्काउन पर्ने हुन्थ्यो । तर विकल्प छ । यसर्थ यस विकल्पमा काम अघि बढ्छ ।’
एसियाली विकास बैंकको सहयोगमा पथलैयादेखि नारायणगढसम्मको सडक विस्तार गर्ने परियोजनामा काम भइरहेको छ । चितवनको केही क्षेत्रमा काम अघि बढेको छ भने पथलैया–बीरगञ्ज सडक खण्डमा पनि काम भइरहेको छ । हेटौंडा बजार क्षेत्रमा भने काम अघि बढ्न सकेको छैन । बजार क्षेत्रका करिब ६ सय घरधनीले सर्वोच्च अदालतमा मुआब्जा नदिई घर भत्काउन नपाउने भन्दै मुद्दा दायर गरेका छन् । अदालतमा मुद्दा विचाराधिन रहेकोले पनि शहरहुँदै जाने राजमार्गको विकल्प खोजिएको राष्ट्रिय सभा सदस्य राईले बताए । ‘शहरबाटै राजमार्ग लैजान्छु भन्यो भने त्यो काम कहिले पनि पूरा हुँदैन,’ उनको दाबी छ,‘अदालतले मुद्दा किनारा लगाउन समय लाग्छ । मान्छेहरुले आन्दोलन गर्न थाल्छन् । यसर्थ हामीले विकल्पको रुपमा प्रस्तुत गरेको सडक नै उपयुक्त हो ।’

सांसद दाहालले शहरी सौन्दर्य बढाउन, शहर विस्तार गर्न, वातावरणीय सन्तुलन कायम गर्न पनि विकल्पको प्रयोग गर्नु पर्ने दाबी गरे । उनले एडिबिका प्रतिनिधिले सर्वेक्षण गर्ने क्रममा विकल्पमा प्रस्तुत भएको मार्गबाट अध्ययन गरी ठेक्का आह्वान भएमा हेटौंडा नगर बच्ने बताए । सरकार पनि यसमा सकारात्मक रहेको उनको दाबी छ । संविधानसभा सदस्य पौडेलले सरकारले यस अघि नै बैकल्पिक बाटोबाट राजमार्ग लैजाने निर्णय गरिसकेको भन्दै त्यसैको कार्यान्वयन हुन मात्रै बाँकी रहेको बताए । सरकारले एडिबिलाई बैकल्पिक मार्गको अध्ययन गर्न आग्रह गरेमा त्यो समस्या सम्बोधन हुने उनले दाबी गरे ।

मकवानपुर उद्योग वाणिज्य संघको दाबी अनुसार बजार क्षेत्रका करिब २ हजार घरधुरीमा लगानी भएको ४० अर्ब र सो घरधुरीमा रहेका साना/ठूला व्यवसायीहरुको करिब २० अर्ब गरी ६० अर्ब रुपैयाँ लगानी जोखिममा पर्नेछ ।

प्रतिकृया दिनुहोस्