कांग्रेसको महाधिवेशन आज, मकवानपुरका १०२ वडाकै अधिवेशन हुँदै

0
105
Advertisementcorona-new-ads

हेटौंडा, १९ भदौ/नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरमा आज आइतबारबाट अधिवेशनको कार्यक्रम सुरु हुँदैछ । आइतबार मकवानपुरको १०२ वटै वडाहरुमा वडा अधिवेशन हुँदैछ । वडा अधिवेशनले आगामी कार्यकालका लागि वडा सभापतिसहित वडा कार्य समिति चयन गर्नेछ भने महाधिवेशनको लागि क्षेत्रीय (बुथ) प्रतिनिधि चयन गर्नेछ ।

कांग्रेस केन्द्रीय कार्यसमितिले घोषणा गरेको कार्यतालिका अनुसार यसअघि १८ गते शुक्रबारको लागि वडा अधिवेशन तोकिएको थियो । आन्तरिक तयारी बाँकी रहेको भन्दै मकवानपुरमा १८ गतेका लागि तोकिएको वडा अधिवेशन २० गतेका लागि सारिएको हो । वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ । वडा अधिवेशनका लागि खटिने निर्वाचन अधिकृतका लागि अनुशिक्षण कार्यक्रम भएको छ । वडा अधिवेशन गराउने १०२ जना निर्वाचन अधिकृतका लागि शुक्रबार एक दिने अनुशिक्षण कार्यक्रम भएको हो । । उनीहरु आ–आफ्नो जिम्मेवारी अनुसारको वडामा अधिवेशन गराउन खटिइसकेका छन् । मकवानपुरको लागि जिल्ला निर्वाचन अधिकृतको रुपमा केन्द्रले गोपी शर्मा सुवेदीलाई खटाएको छ । कांग्रेसको पालिका, क्षेत्र, जिल्ला र प्रदेशको नेतृत्व गर्न चाहने नेताहरुले आफू बसोबास गर्दै आएको वडाबाटै प्रतिनिधि चयन हुनुपर्ने व्यवस्था रहेको छ ।

पालिका सभापतिदेखि माथिल्लो तहको कुनैपनि पदमा रहेर काम गर्न चाहने कांग्रेस नेतालाई सोही बुथ प्रतिनिधिले मतदान गर्नेछन् । प्रत्येक वडाबाट कम्तीमा १६ जना बुथ प्रतिनिधि निर्वाचित हुनेछन् । वडामा रहेको कृयाशील सदस्यको आधारमा प्रतिनिधि थप हुनसक्ने कांग्रेसको विधानमा उल्लेख छ । प्रत्येक वडाबाट खुला, महिला, दलित, जनजाति, खसआर्य, मधेशी लगायतका क्षेत्रको प्रतिनिधित्व गर्दै प्रतिनिधि निर्वाचित हुनेछन् । ‘कांग्रेसको १४ औं महाधिवेशनको कार्यक्रम मकवानपुरमा आइतबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । जिल्लाको १०२ वटै वडामा अधिवेशन हुँदैछ’, कांग्रेस मकवानपुर सभापति र्ईन्द्रबहादुर बानियाँले भने, ‘आ–आफ्नो वडामा पुगेर अधिवेशनमा सहभागी हुनका लागि म कांग्रेसका सम्पूर्ण कृयाशील सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु । सकेसम्म सहमति, सहकार्य र एकतालाई आत्मसाथ गर्दै कांग्रेस र सम्बन्धित वडाको विकासमा लागिपर्ने नेतालाई कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नुहुन अनुरोध गर्दछु ।’

१८ देखि २३ गतेभित्र वडाको अधिवेशन सम्पन्न गर्नुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम मकवानपुरमा वडा अधिवेशन हुन लागेको हो । महाधिवेशनको लागि पूर्वघोषित कार्यतालिका बमोजिम भदौ २७ गते गाउँ तथा नगरपालिकाको अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज ५ गते एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, १० गते एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन तथा कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन हुने कार्यतालिका रहेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिकृया दिनुहोस्